नेफिनको प्रदेश, जिल्ला र स्थानीय तहहरूमा संगठनको गठन, पुनर्गठन, सुदृढिकरण र बिस्तार तथा प्रशिक्षण अभियान – NEFIN । Home

नेफिनको प्रदेश, जिल्ला र स्थानीय तहहरूमा संगठनको गठन, पुनर्गठन, सुदृढिकरण र बिस्तार तथा प्रशिक्षण अभियान

ललितपुर, २७ फागुन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को संघीय परिषद् बैठकको निर्देश तथा संघीय परिषद् सचिवालयको निर्णयबमोजिम नेपालको वर्तमान परिस्थिति र आदिवासी जनजाति आन्दोलनको रणनीतिक र कार्यनीतिक अभियानमुताबिक नेफिनअन्तर्गनका संगठनहरूको सुदृढिकरण र बिस्तार अभियानलाई नेफिनले तिब्रता दिइरहेको छ । जुनसुकै अधियान र आन्दोलनलाई सफल र प्रभावकारी बनाउन व्यवस्थित र क्रियाशील संगठन एक प्रमुख विषय हो । त्यसैले, महासंघले प्रदेश नं. ४ (तमुवान-मगरात) र प्रदेश नं. ५ (मगरात-थरुहट-अवध) प्रदेशहरूमा प्रादेशिक भेलाहरू सम्पन्न गरिसकेको छ । समय पुगेका जिल्ला अधिवेशनहरू, स्थानीय तह (महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका, वडा) समन्वय परिषद्हरू गठन, पुनर्गठन र बिस्तारलाई नेफिनले तिब्रतासाथ जारी राखेको छ । हामी प्रष्ट छौं, नेपालको आदिवासी जनजाति आन्दोलनको प्रमुख मुद्धा भनेको पहिचानको सम्मान, सामुहिक अधिकार, समानुपातिक प्रतिनिधित्व, बहुभाषिक नीति, स्वायत्तता/स्वशासन सहितको संघीयता नै हो । पहिचान र सामाथ्र्य सुनिश्चित भएको १०+१ प्रदेशहरू र थोरै संख्यामा रहेका आदिवासी जनजातिको ऐतिहासिक थातथलो (भूक्षेत्र)मा स्वायत्त, संरक्षित वा विशेष क्षेत्रहरूको सुनिश्चिता नै आदिवासी आन्दोलनको बटमलाइन हो ।

तर पनि, संविधानबमोजिम संघ, प्रदेश र स्थानीय तहहरूको निर्वाचन सम्पन्न भई मुलुक संघीय संरचनाको कार्यान्वयनमा गएको कुरा हामी सबैलाई अवगत भएकै विषय हो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहहरूको निर्वाचनबाट संघीय, प्रदेश र स्थानीय तहहरू सञ्चालनको दिशामा राज्य सरकार प्रष्ट अगाडि बढिरहेको छ । तसर्थ, एकातिर आदिवासी आन्दोलनले आफ्नो सैद्धान्तिक र नीतिगत सवालहरूलाई प्राप्त नहुन्जेलसम्म निरन्तर उठान गर्दै आफ्ना सवालहरूलाई जिवन्त राखेर अगाडि बढ्ने र अर्कोतिर बदलिएको समय र परिस्थितीमा व्यवहारिक र रणनीतिक रुपले सोही अनुरुपको नीति, योजना र कार्यक्रम बनाउनुपर्ने अहिलेको परिस्थिति, आवश्यकता र कार्यभार रहेको छ । नेपाल आदिवासी जनजाति महासंघको विधानअनुसार प्रदेश र स्थानीय तहहरूमा नयाँ संरचनाहरूको गठन, पुनर्गठन र बिस्तार अभियानमा नेफिनले विशेष अभियान सञ्चालन गरिरहेको छ । किनकी, सम्बन्धित प्रदेश र स्थानीय तहहरूको ऐन, कानून, नीति र कार्यक्रमहरू बनाउँदा आदिवासीको पक्षमा बनाउनका लागि नीति निर्माताहरूसँग लबी गर्न, दबाब सिर्जना गर्न गराउन पनि बलियो र गतिशील संगठन एक आधार हो ।

तसर्थ, पहिचान र अधिकार प्राप्तिको आदिवासी आन्दोलनलाई थप प्रभावकारी, सुदृढ र सबलीकृत बनाउन देहाय बमोजिमको मिति र स्थानहरूमा प्रादेशिक र जिल्ला भेला तथा प्रशिक्षणहरू हुन गइरहेको जानकारी गराउँदछौं ।

नेफिनको प्रदेश र जिल्ला भेला तथा प्रशिक्षणको मिति र स्थानः

१) सम्वत् २०७४ फागुन २८ गते सोमबार, कञ्चनपुर जिल्ला भेला तथा प्रशिक्षण
२) सम्वत् २०७४ फागुन २९ गते मंगलबार, प्रदेश नं. ७ (थरुहट-खसान) प्रादेशिक भेला तथा प्रशिक्षण
३) सम्वत् २०७४ फागुन ३० गते बुधबार, बर्दिया जिल्ला भेला तथा प्रशिक्षण
४) सम्वत् २०७४ चैत्र १ गते बिहिबार, बाँके जिल्ला भेला तथा प्रशिक्षण
५) सम्वत् २०७४ चैत्र २ गते शुक्रबार, प्रदेश नं. ६ (खसान-मगरात) प्रादेशिक भेला तथा प्रशिक्षण
६) सम्वत् २०७४ चैत्र ३ गते शनिबार, कपिलवस्तु जिल्ला भेला तथा प्रशिक्षण
७) सम्वत् २०७४ चैत्र ४ गते आइतबार, परासी जिल्ला भेला तथा प्रशिक्षण
८) सम्वत् २०७४ चैत्र ५ गते सोमबार, रुपन्देही जिल्ला भेला तथा प्रशिक्षण (निश्चित हुन बाँकी)
९) सम्वत् २०७४ चैत्र ६ गते मंगलबार, नवलपुर जिल्ला भेला तथा प्रशिक्षण
१०) सम्वत् २०७४ चैत्र ७ गते बुधबार, चितवन जिल्ला भेला तथा प्रशिक्षण ।
पहिचान, अधिकार, न्याय तथा समानता प्राप्तिको अभियानमा तपाईं सम्पूर्ण पक्षको सहयोग र समर्थन रहने कुरामा नेफिन सचिवालय पूर्ण विश्वास व्यक्त गर्दै आ-आफ्नो तवरले यस अभियानलाई सफल पार्न सम्पूर्ण नेफिनको आदिवासी जनजातीय सदस्य संगठनहरू, सम्बन्धन संगठनहरू, सम्बन्धित भूगोल भित्रका प्रदेश, जिल्ला तथा स्थानीय तहहरूका आदिवासी जनजातीय संस्था÷संगठनहरू, समन्वय परिषद्हरू, सम्बन्धन संघसंस्थाहरू, पत्रकार, बुद्धिजीवि, वकिल, प्रध्यापक, शिक्षक तथा आ-आफ्नो क्षेत्रका सम्पूर्ण अग्रज आदिवासी अभियन्ताहरूलगायत आदिवासी क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरू र आदिवासी जनता आ-आफ्नो तवरले सहयोग गर्नुहुने विश्वास र अपेक्षा लिएका छौं । आदिवासीको पहिचान र अधिकार प्राप्तिको हरेक कार्यक्रमहरूलाई सशक्त र सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सबैखाले साथ, सहयोग, समर्थन, सुझाबसहित सबै क्रियाशील रहनुहुने विश्वास समेत व्यक्त गर्दछौं ।
जय आदिवासी जनजाति ।