Press Release PDF Print E-mail
Tuesday, 06 November 2007 09:56
आदिवासी जनजाति संघ संस्थाहरुको तर्फबाट जारी
संयुक्त प्रेस विज्ञप्ती

मितिः २०६४ कार्तिक २० गते

आदिवासी–जनजाति, दलित, मधेशी, महिला, उत्पीडित–उपेक्षितवर्ग लगायतका जनसमुदायले संविधानसभा निर्वाचन बिधि समानुपातिक र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हिजैदेखि उठाई आएको मागलाई अन्ततः अन्तरिम व्यबस्थापिका संसदको विशेष अधिवेशनले मिति २०६४ कार्तिक १८ गतेका दिन लोकतान्त्रिक पद्धति अनुसार पारित गरेकोमा हामी आदिवासी–जनजातिहरु उत्साहित भएका छौं र सो निर्णयलाई स्वागत गर्दै अन्तरिम व्यबस्थापिका संसदलाई धन्यावाद दिन चाहन्छौं।

यसै क्रममा अन्तरिम व्यबस्थापिका संसदले पारित गरेको यस महत्वपूर्ण निर्णयलाई कार्यान्वयन गर्न सरकारसित माग गर्दै संविधानसभाको निर्वाचनको मिति अविलम्ब घोषणा गर्न समेत जोडदार माग गर्दछौं। सात दल बीचको एकतालाई अझ बढी मजबुत गरी संविधानसभाको निर्वाचन समयमा सम्पन्न गराउन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र देशमा दिगो शान्ति कायम गर्न लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका सबै शक्तिहरुलाई एकताबद्ध गर्न समेत माग गर्दछौं। यसै सन्दर्र्भमा नेपाल सरकार र आदिवासी जनजाति बीच ०६४ साउन २२ गते भएको सम्झौतालाई कार्तिक १८ गते अन्तरिम व्यबस्थापिका संसदद्धारा पारित भएको निर्वाचन प्रणाली अनुसार परिमार्जन गरी यथाशीघ्र कार्यान्वयन गर्नका लागि पनि नेपाल सरकारसँग जोडदार माग गर्दछौं।

साथै पत्रकार बीरेन्द्र साहको हत्याको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न राज्यसित माग गर्दै दिवंगत बीरेन्द्र साह लगायत हत्या हिंसाद्धारा दिवंगत भएकाहरु प्रति श्रद्धान्जली प्रकट गर्दै उनीहरुका परिवारलाई क्षतिपूर्ति दिन समेत माग गर्दछौं।

अन्तमा देशमा फैलिएको हत्या, हिंसा, आतंक, अराजकता, दण्डहीनता समाप्त गर्न सरकारसँग जोडदार माग गर्दछौं।

  पासाङ शेर्पा, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ
  के.बी. गुरुङ्ग, सदस्य – आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाल
  नविन चित्रकार, सदस्य – आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाल
  नागेन्द्र चौधरी, सदस्य – आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाल
  भूगोल शेरचन, अध्यक्ष – राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
  चन्द्र विक्रम राई, अध्यक्ष – आदिवासी जनजाति विद्यार्थी महासंघ
  दीपक थापा, सदस्य – आदिवासी जनजाति युवा संघ