नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५, कोटलबारमा २०८३ श्रावण २७ गते साँझ गएको भीषण पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ। उक्त प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।
यस दुःखद् घटनाबाट प्रभावित घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ। साथै, पीडित परिवार तथा प्रभावित समुदायलाई आवश्यक राहत, उपचार, खाद्यान्न, आवास तथा अन्य आवश्यक सहयोग तत्काल उपलब्ध गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सबै पक्षसँग नेपाल आदिवासी जनजाति महासंघ हार्दिक आग्रह गर्दछ।
यस शोकपूर्ण घडीमा नेपाल आदिवासी जनजाति महासंघ सम्पूर्ण पीडित परिवार तथा थवाङवासी जनसमुदायको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दछ।