बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. ०१, सिमरा निवासी ३ वर्षीया अबोध बालिका गरिमा चौधरी गत साउन ३१ गते आइतबार बिहान घरबाट हराएको र पछि उनको बलात्कार गरी अत्यन्तै क्रूर, अमानवीय तथा विभत्स ढङ्गबाट हत्या गरिएको हृदयविदारक घटनाप्रति नेपाल आदिवासी जनजाति महासंघ (ल्भ्ँक्ष्ल्) को गम्भीर ध्यानाकर्षण भएको छ । अबोध बालिकामाथि भएको यस्तो जघन्य यौन हिंसा र त्यसपछि गरिएको निर्मम हत्या मानवता, सभ्यता र कानुनी शासनमाथिकै गम्भीर चुनौती हो । घटनाको क्रूरता र अमानवीयताले सम्पूर्ण आदिवासी जनजाति समुदायसहित आम नेपाली नागरिकलाई स्तब्ध, मर्माहत र आक्रोशित बनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ यस घृणित, अमानवीय र जघन्य अपराधको घोर निन्दा एवं भत्र्सना सहित हत्या गरिएका ३ वर्षीया अबोध बालिका गरिमा चौधरी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुःखद् र पीडादायी घटनाबाट शोकाकुल परिवारजनप्रति नेपाल आदिवासी जनजाति महासंघ हार्दिक समवेदना व्यक्त गर्दछ । साथै, पीडित परिवारलाई न्याय प्राप्तिको प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण गर्न राज्यका सम्बन्धित सबै निकाय गम्भीर र संवेदनशील भएर प्रस्तुत हुन ल्भ्ँक्ष्ल् आग्रह गर्दछ । साथै, घटनामा संलग्न दोषीलाई कुनै पनि प्रकारको राजनीतिक, सामाजिक वा अन्य दबाब तथा प्रभावबाट उन्मुक्ति नदिई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछ । नेपालमा दिनप्रतिदिन बालबालिका तथा महिलामाथि हुने यौन हिंसा, हत्या र अन्य जघन्य अपराधका घटना बढ्दै जानु अत्यन्तै चिन्ताजनक विषय हो । यस्ता घटनाको प्रभावकारी नियन्त्रणका लागि राज्यले कानुनको कठोर कार्यान्वयन, पीडितको सुरक्षा, न्यायमा सहज पहुँच तथा बालबालिकाको प्रभावकारी संरक्षणको सुनिश्चितता गर्न आवश्यक छ । ३ वर्षीया गरिमा चौधरीका लागि न्याय केवल पीडित परिवारको माग मात्र होइन, समग्र समाज र राज्यको दायित्व हो ।
अन्त्यमा घटनाका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिई कानुनको कठघरामा उभ्याएर पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी राज्यले तत्काल आवश्यक कदम चालोस् भन्ने नेपाल आदिवासी जनजाति महासंघ जोडदार माग गर्दछ ।