बाढीबाट सुरक्षित रहन तथा तत्काल उद्धार–राहतको व्यवस्था गर्न अपिल


Blog Details
  • 2026-08-26

आज २०८३ भाद्र १० गते बिहान ९ः१५ को समयमा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा पानीको बहाव उच्च भै ठूलो धनजनको क्षेति भएको अवस्थाप्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्र जोखिममा पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउँदै नदी किनारबाट टाढा रही सुरक्षित स्थानमा बस्न हार्दिक अपिल गर्दछौँ ।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा अन्य जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकता दिन र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनाको पालना गर्न अनुरोध गर्दछौँ । यसै सन्दर्भमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई जोखिममा रहेका नागरिकको तत्काल सुरक्षित स्थानान्तरण, उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्था गर्न नेपाल आदिवासी जनजाति महासंघ जोडदार ध्यानाकर्षण गराउँदछ ।  नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रसुवा लगायत सम्बन्धित जिल्लाका संरचनाहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहनसमेत आह्वान गर्दछौँ ।


विपद्को यस घडीमा सबै नागरिकबीच आपसी सहयोग, समन्वय र एकता कायम गर्दै सुरक्षित रहन हार्दिक अपिल गर्दछौँ ।


सबैजना सतर्क रहौँ, सुरक्षित रहौँ, एकअर्काको साथ बनौँ ।